1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

महङ्गी, काला बजारी र तस्करी नियन्त्रण गर्न सांसदहरुको माग

12
9

काठमाडौं– दशैं, तिहार, छठ लगायतका चाडपर्व नजिकिँदै गर्दा अस्वभाविक रुपमा महङ्गी, कालाबजारी र तस्करी बढेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बजारमा दैनिक उपभोग्य चिनी, खाद्यान्न लगायतका वस्तुहरुको अस्वभाविक मूल्यवृद्धि भएको सांसदहरुको भनाइ छ। 

प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसदहरुले चाडपर्वको सम्मुखमा दैनिक उपभोग्य वस्तुको मूल्यसँगै काला बजारी र तस्करी बढेको भन्दै त्यसबारे सरकारले तत्काल अनुगमन गर्दै कारबाही गर्नुपर्नेमा जोड दिएका छन्। 

समितिको बैठकमा बोल्दै एमाले सांसद गोकुल बास्कोटाले भने,‘दशैंको बेलामा धेरै कुराको अभाव हुने गरेको छ। यही बेलामा मात्रै बजार अनुगमन र छापा मार्नुभन्दा सरकारले अरु बेलामा पनि यसलाई निरन्तरता दिनुपर्छ।’

सांसद बास्कोटाले मुलुकमा चिनी उत्पादन र बिक्री बितरण गर्ने व्यक्ति उही भएकाले सिन्डिकेट भएको आरोप लगाए। 
उखु किसानको समस्या वर्षेनी रहेको बताउँदै बास्कोटाले उनीहरुको समस्या समाधानका लागि उत्पादकहरूका लागि कार्डको व्यवस्था गर्नुपर्ने बताए। उनले बजारमा गुणस्तरहीन चिनी बिक्री वितरण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए। 

उनले समितिको बैठकमा आफैंले खल्तीमा बोकेर ल्याएको चिनीको ‘परीक्षण’ गर्दै हाल बजारमा गुणस्तरहीन चिनी बिक्री भइरहेको बताए। ‘म गुणस्तर मापदण्ड नाप्ने, परीक्षण गर्ने प्राविधिक त हैन। तर म चिनी परीक्षण गरेर देखाउन सक्छु। त्यो चिनी मैले यही समितिमै ल्याएको छु, यो कस्तो हुन्छ म देखाउँछु,’ बास्कोटाले भने। एउटा गिलासमा पानी भरेर चिनी घोलेका सांसद बास्कोटाले चिनी पुरै नघुली सेता कणहरु बाँकी रहेको देखाए। जसकारण उक्त चिनी गुणस्तरहीन भएको उनको भनाइ थियो।  
 
राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले चिनी लगायतका खाद्य पदार्थमा अस्वभाविक मूल्यवृद्धि भएकाले त्यसबारे सरकारले चासो देखाउनुपर्ने बताए। उनले भने,‘चिनी लगायतका खाद्य वस्तुको मूल्य बढिरहेको छ। यसबारे नियमित अनुगमन र छलफल हुनुपर्छ।’ फरक प्रसंगमा बोल्दै अध्यक्ष लिंङदेनले नेपाल दूरसञ्चारमा उपभोक्ता बढेको भए पनि त्यसको राजस्व घटेको भन्दै सरकारको ध्यानाकर्षण गराए। उनले एमसीसीले दिएको अनुदानभन्दा ठूलो राजस्व खेर गइरहेका दाबी गरे। उनले भने,‘यसबारेका छलफल हुनुपर्छ। नियमन हुनुपर्छ, चुहावट रोकिनु पर्छ। यो विषयमा समिति नै प्रस्ट हुनुपर्छ।’ उनले यसबारे प्रविधि ठिक नभएको हो कि?भन्दै प्रश्न समेत गरे। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3