1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

गैह्रीगाउँ हत्याकाण्डका अभियुक्तको बयानले प्रहरी रनभुल्ल, विभिन्न ठाउँमा हत्या गरेको दाबी

12
9

काठमाडौं– गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा भएको ४ जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका युवक अहिले प्रहरी हिरासतमा छन्।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय सञ्जय भण्डारी अहिले जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन्। भदौ २८ गते राति पौने ९ बजेदेखि सवा १० बजेसम्म आधा घण्टाको बीचमा ४ जनाको सामूहिक हत्या गरेर फरार भएका बोल्न नसक्ने भण्डारीलाई प्रहरीले भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो।

भण्डारीले उक्त फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

फालमको बिँड भएको खुकुरीले भण्डारीले चारै जनालाई प्रहार गरेर हत्या गरेका थिए। अधिकांशको अनुहार तथा टाउकामा चोट लागेको थियो।

सीसीटिभी फुटेजको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी भण्डारीलाई सार्वजनिक गरेको थियो। जन्मजात बोल्न नसक्ने भण्डारीले नक्सालस्थित बाल मन्दिरबाट सांकेतिक भाषामा कक्षा १२ सम्म अध्ययन समेत गरेका छन्।

हत्या गरेपछि झोलामा खुकुरी बोकेर सिन्धुपाल्चोक जाने तयारीमा रहेका बेला उनी पक्राउ परेका थिए। पक्राउ परेपछि भण्डारीले कापीमा ‘आइ किल्ड फोर पिपुल’ लेखेर हत्या समेत स्वीकार गरेका थिए।

इन्टरपेटर राखेर प्रहरीले भण्डारीमाथि थप अनुसन्धान गरिरहेको छ। अनुसन्धानका क्रममा उनले आफूले अन्य व्यक्तिहरुको समेत हत्या गरेको भन्दै प्रहरीलाई बयान दिएका छन्। उनको बयानपछि प्रहरी चकित परेको छ। नक्साल, रोतोपुलमा आफूले अझै केही व्यक्ति हत्या गरेको भण्डारीले बयान दिएपछि अनुसन्धानमा संलग्न प्रहरी नै चकित परेका थिए।

थप व्यक्तिको समेत हत्या गरेको बताएपछि प्रहरीले भण्डारीलाई लिएर घटनास्थल देखाउन समेत लगाएको थियो। उनले रातो पुल क्षेत्रमा आफूले हत्या गरेर फालेको भनिएको ठाउँमा केही समय पहिला १ महिलाको शवसमेत भेटिएको थियो। 

अहिले उनै भण्डारीले उक्त घटनासँग मिल्दोजुल्दो बयान दिएपछि प्रहरी अधिकारीहरु चकित परेका छन्। उनले भनेका कुराहरुलाई विभिन्न प्रमाणमार्फत् पुष्टि गर्नसक्ने आधारहरु छन्/छैनन् भन्ने विषयमा केन्द्रित भएर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।

त्यसैगरी उनले नक्साल क्षेत्रमा समेत एक व्यक्तिको हत्या गरेर गाडेको दाबी गर्दै बयान दिएका छन्। यद्यपि उनको बयानलाई अहिलेसम्म पुष्टि गर्ने आधारहरु प्रहरीले फेला पारेको छैन।

प्रहरीको आँखा छलेर भाग्न सकिन्छ कि वा घुम्न पाइन्छ भन्ने हिसाबले पनि भण्डारीले बयान दिएको हुनसक्ने आशंका अनुसन्धानमा संलग्न अधिकारीको छ। यसैगरी भण्डारीले सिन्धुपाल्चोकमा समेत हत्या गरेको भन्दै बयान दिएको प्रहरी अधिकारी बताउँछन्।

आफूलाई सिन्धुपाल्चोक पुर्‍याएपछि हत्या गरेको ठाउँ देखाइदिने उनको भनाइ छ। तर उनको भनाइमा विश्वास गर्ने ठाउँ नदेखिएको भन्दै प्रहरीले उनलाई सिन्धुपाल्चोक लगेको छैन।

लागु औषधको कसुरमा पक्राउ परेर प्रहरी परिसर टेकुकै हिरासतमा रहेका एक व्यक्तिलाई समेत उनले आफूसँगै मिलेर हत्या गरेको भन्दै बयान दिएका छन्। तर भण्डारीको बयानमा उक्त कुरा मेल खान सकेको छैन।

विभिन्न ठाउँमा व्यक्ति हत्या गरेको भन्दै बयान दिएपछि परिसर टेकुका अनुसन्धान अधिकारीहरु भण्डारीको व्यवहार देखेर अहिले चकित परेका छन्। ‘उनले बयान दिएका केही कुराहरुमा विश्वास गर्ने ठाउँहरु पनि देखिएको, उनको हाउभाउ आनिबानीले उक्त कुराहरुमा विश्वास गर्न सक्ने वातावरण देखिन्छ, तर प्रमाण नभएका कारण उनको बयान सही हो भन्नसक्ने अवस्था छैन,’ परिसर टेकुका एक अनुसन्धान अधिकारीले भने।

वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाइ नाता पर्ने दीपेन्द्र राईसँग फर्निचरमा बस्दै आएका नवीन राईले मोटरसाइकलले आफूलाई ठक्कर दिएका कारण हत्या गरेको भण्डारीको प्रारम्भिक बयान थियो। तर, अहिले अन्य व्यक्तिको पनि हत्या गरेको भन्दै बयान दिएपछि भण्डारीले सुरुमा दिएको उक्त बयानसमेत सत्य हुन नसक्ने प्रहरीको आकलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3