1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

अर्थमन्त्रीको आगामी स्टेप: नयाँ टिम बनाएपछि नीतिगत निर्णय, अर्थमा को-को प्रवेश गर्दैछन् ?

12
9

नयाँ सरकार बनेपछि सबैभन्दा पहिले परिवर्तन गरिन्छ अर्थ मन्त्रालयका कर्मचारी ।  अर्थ मन्त्रालय, मातहतका विभाग वा महाशाखाहरू अन्यको तुलनामा आकर्षित हुन्छन् । 

विष्णु पौडेल अर्थमन्त्री भएको १० दिनमै दुई सचिव परिवर्तन गरे । सरुवाको निर्णय भएकै अर्को दिन पुरानो सचिवको बिदाइ र नयाँलाई स्वागतसमेत गरियो । विष्णु पौडेल मात्रै होइन, जनार्दन शर्मा अर्थमन्त्री भएर आउँदा पनि यसैगरी द्रूतगतिमा अर्थ मन्त्रालयका कर्मचारी फेरबदल गरिएको थियो ।

२९ असार, २०७८ मा अर्थमन्त्रीको शपथ लिएका जनार्दनले सोही दिन महालेखा नियन्त्रकको कार्यालयमा रहेका मधुकुमार मरासिनीलाई अर्थ सचिवका रूपमा मन्त्रालय भित्र्याएका थिए । फेरि एक महिनापछि राजस्व सचिव पनि निकटस्थ मानिने कृष्णहरि पुष्करलाई शर्माले मन्त्रालयमा भित्र्याएका थिए । 

२०७९-८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएर करका दरहरू हेरफेर गरेको विषयमा छानबिन कमिटी नै गठन गरिएपछि राजीनामा दिएका शर्माले २५ दिनपछि पुन: अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए । त्यसपछि उनले फेरि नयाँ टिम बनाए । जनार्दनका विश्वासिला मानिएका कृष्णहरि पुष्कर अर्थ सचिव बने ।

नेताहरू रिझाउन सिपालु मानिले पुष्कर पछिल्ला वर्षमा माओवादी केन्द्रनिकट मानिन्थे । नयाँ अर्थमन्त्री आए पनि प्रचण्ड प्रधानमन्त्री भएपछि आफूले नै अर्थ मन्त्रालय हेर्न पाउनेमा ढुक्क थिए पुष्कर । ‘प्रधानमन्त्रीसँग नै कुरा भइरहेको छ, यहीँ जिम्मेवारीमै रहन्छु र त्यो विश्वास पनि पाएको छु,’ १९ पुसमा अर्थ मन्त्रालयमा पुष्करले आफूनिकटहरूसँग भनेका थिए ।

तर, नयाँ अर्थमन्त्री पौडेलको व्यवहारले भने पुष्कर सुरुवामा पर्ने अनुमान लगाउन गाह्रो थिएन । पौडेल अर्थमन्त्री भएको १० दिनमै अर्थसचिवमा तोयम राय र राजस्व सचिवमा डा. रामप्रसाद घिमिरेलाई ल्याइयो । दुवै जना एमालेनिकट कर्मचारीका रूपमा चिनिन्छन् । यद्यपि, दुवै जना अर्थका क्याडर भएकाले स्वाभाविक भएको अर्थका अधिकारीहरूको भनाइ छ । ‘कर्मचारीलाई यो वा त्यो पार्टीनिकट भनिन्छ र बनाइन्छ । उहाँहरू एमालेनिकट भन्छन् तर योग्यताको हिसाबले दुवै जना काविल हुन्,’ अर्थ मन्त्रालयका एक महाशाखा प्रमुखले भने । 

अर्थ मन्त्रालयमा लामो समय बिताएका रायले यसअघि भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए । अर्थ सचिव बन्नुअघि उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव थिए । त्यस्तै, अख्तियारको सचिवबाट अर्थ मन्त्रालयको राजस्व सचिव भएर आएका डा. रामप्रसाद घिमिरे पनि अर्थकै क्याडर हुन् । उनले यसअघि अर्थ मन्त्रालयमा राजस्व महाशाखाको नेतृत्व समेत गरेका थिए भने विष्णु पौडेलले बनाएको अघिल्लो बजेट लेखनको नेतृत्व पनि गरेका थिए । 

अर्थमन्त्री पौडेल जिम्मेवारी हेरफेर स्वाभाविक भएको बताउँछन् । ‘को कहाँ फिट हुन्छ, कसबाट बढी काम निकाल्न सकिन्छ भनेर हेर्ने हो । जिम्मेवारी हेरफेर स्वाभाविक हो,’ अर्थमन्त्री पौडेलले भने । २६ पुसमा सरकारले विश्वासको मत लिएपछि मात्रै सचिव परिवर्तन गर्ने भनिए पनि अर्थमन्त्रीकै दबाबमा तत्काल सचिवहरूको जिम्मेवारी हेरफेर गरिएको अर्थका अधिकारीहरूको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3