1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

बाबुरामलाई निषेध गरे समाजवादी मोर्चा सफल हुँदैन : गंगा श्रेष्ठ

12
9

नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरुलाई थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन्।

सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टीलाई थाहा नै नदिइकन समाजवादी मोर्चा नेपालको घोषणा भएको बताएका हुन्। मोर्चा निर्माणको लागि विगतमा आफ्नो पार्टीसँग पनि छलफल चलेको भएपनि निर्णायक बेलामा आफूहरुलाई खबर नभएको बताए। उनले केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईका बीचमा तत्काल समाजवादी मोर्चा गठन नहुने र गर्दा सल्लाहमै गर्ने सहमति भएपनि अचानक घोषणा हुनुले आश्चर्य लागेको बताए।

उनले भने, ‘हामीलाई थाहा नै छैन। विगतमा यो विषयमा छलफल चलेको हो। यो बीचमा हामीसँग खासै उहाँहरुले सम्पर्क गर्नुभएन। चारवटा दलहरुको बिचमा गृहकार्य चलिराखेको छ भन्नेखालको अनौपचारिक तवरबाट हामीले खबरहरु प्राप्त गरी नै राखेका थियौँ।’

उनले थपे, ‘प्रधानमन्त्रीसँग डा. बाबुराम भट्टराईको भेट भयो। भेट पछि सबै कुरा सार्वजनिक भएको छ। उहाँले भन्नुभएको कुरा होइन अहिले तत्काल त्यो गठन नहुने भयो। जे गरिन्छ हामी सल्लाहबाटै गरिन्छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो।’

उनले बजार हल्ला चलेको जस्तै कोही व्यक्ति कसैले फलानो बसे म बस्दिनँ, फलानो पार्टी रहे हाम्रो पार्टी रहँदैन भनेर यदी भनेको हो भने यो मोर्चाले सार्थकता नपाउने बताए।

सहअध्यक्ष श्रेष्ठले समाजवादी मोर्चा नेपालले देशलाई समाजवादी बनाउन कामयावि हुन्छ अथवा सत्ता समीकरणमा मात्रै रुमल्लिन्छ भन्ने प्रश्न उब्जिएको बताए। उनले साचो अर्थमा समाजवाद निर्माण गर्ने उद्देश्यले मोर्चा बनेको भए आफ्नो पार्टीपनि त्यसमा सहभागी हुने बताए।

सत्ता समीकरणका लागि अंक गणितीय दाउपेचमा मोर्चा बनेको हो भने मोर्चा बारे सोच्नुपर्ने बताए। यद्यपी समाजवादी मोर्चालाई अहिले नै शंका गर्नु नहुने उनको भनाई छ। उनले सञ्चारमाध्यममा आएजस्तो उपेन्द्र यादवले डा. बाबुराम भट्टराईलाई मोर्चामा आउन नदिएको हो भने त्यस्तो साँघुरो सोचाइबाट समाजवाद निर्माण हुन नसक्ने बताए।

सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टी मोर्चामा सहभागी नहुनुले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असर नपार्ने बताए। उनले राजनीतिक एजेण्डा, मुद्दा, विचारका आधारमा दुई पार्टीको बीचमा एकता हुने उल्लेख गरे। समाजवादी मोर्चामा सँगै नभएका कारण प्रधानमन्त्री दाहाल र बाबुरामको सम्बन्ध नबिग्रिएको उनको भनाई छ।

उनले नेकपा(माओवादी केन्द्र)सँग नेसपाको एकता प्रक्रिया अगाडि बढिसकेको पनि बताए। नेसपाले एकताको आधारपत्र माओवादी केन्द्रलाई बुझाइसकेको र माओवादी केन्द्रको औपचारिक जवाफ कुरेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3