1
7

Gaukhabar TV

Gaukhabar TV

4
11

दसैंलाई खसी/बोका ल्याउने तयारी, काठमाडौंमा कति आउला? 

12
9

काठमाडौं। यसपालि दसैंलाई सरकारले खसी/बोका र राँगा काठमाडौं उपत्यका भित्र्याउने तयारी थालेको छ।दसैंका लागि काठमाडौंमा खसी/बोका ल्याउन तयारी थालिएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताए।

विभाग आफैंले पशु खरिद गर्दैन। तर, निजी क्षेत्र, नेपाल चौपाया खरिद–बिक्री संघ, बाख्रापालक महासंघलगायतले उपत्यका बाहिरबाट ल्याएका पशुलाई व्यवस्थितरूपमा उपभोक्ताको घरसम्म पुर्याउन नियमनकारी निकायको भूमिकामा विभागले काम गर्छ। हरेक वर्ष चाडपर्वमा उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउ विभागले उपत्यका भित्रिने पशुको नियमन गर्छ।

‘विभागले खरिद-बिक्री गर्दैन, पशुको स्वास्थ्य परीक्षण र बजार मूल्यका विषयमा काम गर्ने हो, यो वर्ष कति पशु उपत्यकामा खपत हुन्छन् भन्ने विषयमा सबै निकाय बसेर छलफल हुन बाँकी छ,’ महानिर्देशक डा. दाहालले क्यापिटल नेपालसँग भने।

Arghakhachi Cement
Shree Steel

आइबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा खसीको बजार मूल्य र मागका विषयमा छलफल भएको थियो। उक्त छलफलपछि विभागले आफ्नो क्षेत्रको माग, आपूर्ति तथा बजार मूल्यका विषयमा बुझ्न बैठक बोलाइसकेको छ। 

२/३ दिनभित्र बैठक बसेर दसैंमा उपत्यकामा हुने पशु मागको आधिकारिक तथ्यांक सार्वजनिक हुनेछ। सामान्य दिनमा उपत्यकामा दैनिक करिब १ हजार २ सय खसी/बोका माग हुने गरेको छ। तर, बजार मूल्य भने दैनिक घटबढ भइरहने भएकाले यकिन हुँदैन। 

गत वर्ष ५५ हजार पशु आयात

विभागले २०७९ दसैंमा करिब ६० हजार खसी/बोका तथा राँगा खपत हुने आँकलन गरेको थियो। तर, ५५ हजार पशुमात्रै उपत्यका भित्रिएको विभागका महानिर्देशक डा. दाहालले बताए। ‘करिब ५५ हजार पशुको स्वास्थ्य परीक्षण गरेका थियौं, यो वर्षका लागि अहिले भन्न सकिँदैन,’ उनले भने। 

त्यस्तै २०७८ दसैंमा ५० हजार पशु खपत भएका थिए। यद्यपि, व्यक्तिगतरूपमा ल्याइएका पशु विवरण भने विभागले राखेको हुँदैन।

त्यस्तै विभागका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकाल यो वर्ष पनि गत वर्षजस्तै दसैंमा मासु खपत हुने बताउँछन्।

‘यो वर्ष कति पशु चाहिन्छ भनेर छुट्टै आँकलन भइसकेको छैन। तर, गत वर्षकै हाराहारीमा खपत हुन्छ धेरै फरक पर्दैन,’ सूचना अधिकारी ढकालले भने। 

लम्पी स्किनले दसैंलाई असर नपर्ने 

२०७९ चैतदेखि मोरङबाट देशभरि गाई तथा भैंसीमा लम्पी स्किन रोग फैलिएको छ। उक्त रोग पूर्णरूपमा हालसम्म पनि नियन्त्रणमा आइसकेको छैन। 

यद्यपि, दसैंका लागि खसी/बोका अभाव नहुने विभागले जनाएको छ। लम्पी स्किन गाई तथा भैंसीमा लाग्ने रोग भएकाले खसी/बोका तथा च्याङ्ग्राका लागि समस्या नभएको महानिर्देशक दाहालले बताए। 

‘खसी/बोकाका लागि लम्पी स्किन रोगले असर गरेको छैन, भैंसीमा संक्रमण कम भएकाले समस्या हुँदैन,’ उनले भने, ‘तर, अर्को वर्ष पशु अभाव नहोस् भनेर रोकथाममा लागिरहेका छौं।’ 

खाद्य कम्पनीले ३ हजार खसी/बोका ल्याउँदै 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि २ हजार खसी/बोका र १ हजार च्याङ्ग्रा गरी ३ हजार पशु आयात गर्ने तयारी गरेको छ। कम्पनीले ३ हजार पशु ल्याउने जनाए पनि च्याङ्ग्रा भने धेरै ल्याउन सकेको छैन। 

२०७८ मा एउटा पनि च्याङ्ग्रा आयात गर्न नसकेको कम्पनीले पोहोर पनि १ हजार च्याङ्ग्रा ल्याउने योजना बनाएकामा दार्चुलाबाट ल्याएर १ सय ६२ मात्रै बिक्री गरेको थियो। 

कम्पनीको योजनाअनुसार च्याङ्ग्रा खरिद गर्न नसक्नुको कारण बताउँदै सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदी भन्छिन्, ‘२०७८ मा कोरोनाका कारण उपलब्ध भएन, पोहोर पनि धेरै च्याङ्ग्रा भेटिएन जसले गर्दा मूल्य स्वतः बढ्न जाँदा उपभोक्तालाई मार पर्ने गरी धेरै खरिद गर्न सकिएन।’

यो वर्ष मनाङ, दार्चुलालगायत रसुवा जिल्लामा पनि च्याङ्ग्राका विषयमा बुझिरहेको सूचना अधिकारी सुवेदी बताउँछिन्। तर, मूल्य बढी हुने देखिएमा खरिद हुन नसक्ने उनको भनाइ छ। 

कम्पनीले अन्य निकायले भन्दा केही रुपैयाँ सस्तोमा पशु बिक्री गर्छ। ‘हामी कम मूल्यमा वस्तु उपलब्ध गराउने निकाय हौं, अनि आफैंले खरिद गर्दा बढी तिरेर ढुवानी खर्च जोडेर ग्राहकलाई दुःख दिन मिल्दैन,’ उनले भनिन्। 

यसअघि घटस्थापनाबाट बिक्री सुरु गर्ने कम्पनीले यो वर्ष भने केही दिन ढिलो बिक्री गर्ने विषयमा छलफल अघि बढाएको छ।

काठमाडौंमा पशु आइपुग्न समय लाग्ने तथा उपभोक्ताले पनि घरमा लगेर धेरै दिन राख्न समस्या हुँदा फूलपातीको एक–दुई दिनअघिबाट मात्रै बिक्री गर्ने विषयमा छलफल गर्दै छ।

यद्यपि, कति स्थानबाट, कहिलेदेखि बिक्री सुरु हुन्छ भन्ने विषयमा निर्णय हुन बाँकी छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4
3